प्रधानमन्त्री प्रचण्ड आज अमेरिकाबाट सिधै चीन जाँदै

  Sampatti News

September 22, 2023

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (शुक्रबार) अमेरिकाबाट सिधै चीन भ्रमणमा जाँदै छन्। 

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा पुगेका प्रचण्ड त्यहाँबाट सिधै चीनको हाङजाओ जान लागेका हुन्।

एक साता लामो चीन भ्रमणका लागि न्युयोर्कको स्थानीय समयअनुसार राति १ बजेको फ्लाइटमा चीन प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ।

हाङझावमा प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति सी चिनफिङसँग भेट्ने कार्यक्रम छ । भोलिदेखि सुरू हुने एसियाली खेलकुदको उद्घाटन समारोहमा सरिक भएपछि प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीबीच भेट्ने कार्यक्रम छ ।

चीनको सात दिने भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले समकक्षी ली क्वान र चीनको नेशनल कंग्रेसका अध्यक्ष ‍झाओ लेजीसँग बेइजिङमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बेइजिङस्थित नेपाली राजदूतावासको कार्यालयमा उद्योग वाणिज्य महासंघ र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद्‍ले संयुक्त रूपमा आयोजना गर्ने नेपाल-चीन लगानी सम्मेलनलाई  प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नेछन् ।

प्रकाशित मिति:September 22, 2023