पसलमा आगलागी हुँदा ८० लाखभन्दा बढीको धनमाल जलेर नष्ट

  Sampatti News Online

September 23, 2023

सिरहा । सिरहाको विष्णुपुर बजारमा रहेको एक कपडा पसलमा आगलागी हुँदा लाखौं मूल्य बराबारकाे धनमाल जलेर नष्ट भएको छ।

विष्णुपुर गाउँपालिका ५ का चन्देश्वर महतोले विष्णुपुर १ बजारमा सञ्चालन गर्दै आएको कपडा पसलमा आगलागी हुँदा ८० लाखभन्दा बढीको धनमाल जलेर काम नलाग्ने भएको हो। आगलागीबाट पसलमा रहेका सवै कपडा, र्याक, नगद तथा पसल रहेको घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ। प्रारम्भिक तत्थाङ्क अनुसार ८० लाखभन्दा बढीको धनमाल जलेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सिरहाकाले जानकारी दिएका छन् ।

क्षतिका विवरणहरु अझै संकलन हुन बाँकी रहेकोले तत्कालै क्षतिको एकीन गर्न नसकिने बताए। बिधुत सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि आगलागीको कारण अझै खुल्न नसकेको प्रहरीको भनाई रहेको छ। नजिकै रहेको चिया पसलेले पसलबाट धुवा निस्किरहेको देखेपछि तत्काल प्रहरीलाई खवर गरेका थिए। प्रहरी आएर पसल खोल्ने प्रयास गरे पनि सम्भव नभएपछि पसलका साहुलाई बोलाइएको थियो।

पसलले आउँदा सम्ममा धेरै सामान जलिसकेको प्रहरीले बताएको छ। सिरहा र गोलबजार नगरपालिकाबाट गएका बारुण यन्त्र, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको हो। घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:September 23, 2023