दोषीलाई कारबाही नगरेसम्म आन्दोलन जारी राख्‍ने

  Sampatti News

September 27, 2023

काठमाडौँ । चिकित्सकमाथि आक्रमण भएको विरोधमा आन्दोलित चिकित्सकहरुले दोषीलाई कारबाही नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

पोखराको मणिपाल शिक्षण अस्पताल, हेटौंडा लगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको विरोध गर्दै चिकित्सकहरुले बुधवार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । स्वास्थ्यकर्मीमाथि श्रृंखलाबद्ध आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै चिकित्सकहरु सडकमा उत्रिएर विरोध जनाएका हुन् ।

स्वास्थ्यकर्मीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्ब कार्यान्वयनको माग राखेका छन् । विरोध प्रदर्शनका क्रममा सञ्चराकर्मीहरुसँग कुरा गर्दै आन्दोलनरत चिकित्सकहरूले सरकारले सहमति गरेर मात्रै नपुग्ने भन्दै पक्राउ गरेर कारबाही गर्न माग गरेका थिए ।

सरकारले दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने उनले बताए । दोषीलाई संरक्षण गर्न नहुने र चिकित्सकमाथि बारम्बार आक्रमण हुँदा पनि सरकारले अहिले सम्म कारबाही गर्न सकेकाे छैन ।

‘सहमति धेरै भइसक्यो, एक्सन हामीलाई चाहिँदैन । यो धेरै भइसक्यो । पक्राउ गर्नुस् हामी मान्छौं । नत्र सकेनौं भन्नुस्, हात उठाउनुस् । जबसम्म पक्राउ गरेर मुद्दा चल्दैन, हामी आन्दोलनमा नै हुन्छौं । यो राज्यको कमजोरी हो, कानुनीराज्य भएको भए घटना भएलगत्तै पक्राउ परी जेलमा जान्थे । यहाँ त घटना दोहोरिँदा पनि कारबाही छैन । दोषीलाई संरक्षण गर्नु हुँदैन । राज्य टुलुटुलु हेरेर बसेको छ,’ आन्दोलनरत चिकित्सकहरूले भने ।

प्रकाशित मिति:September 27, 2023