४ किलो सुनसहित तीन जना पक्राउ

  Sampatti News Online

September 28, 2023

दोलखा । हिजो (बुधबार) राति दोलखामा चार किलो सुनसहित तीनलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको विगु गाउँपालिका जामुनेबाट चार किलो सुनसहित तीन जनालाई पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय दोलखाले बताउनुभयो ।

उक्त सुन लप्ची नाकाबाट भित्रिएको हुनसक्ने खड्काले आशंका गरेका छन् । पक्राउ परेका तीन जनामध्ये दुई जनाले सुन बोकेको र एक जनाको संलग्नता रहे नरहेको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले बताउनुभयो । पक्राउ परेका तीनै जना विगु गाउँपालिका–१ लामाबगरबासी भएको प्रहरीले जनाएको छ ।

चीन सरकारले आइतबारदेखि तिब्बतसँग जोडिएको दोलखाकाका दुईवटा नाका खुला गरेको थियो । सुन भित्रिँदै गरेको गोप्य सूचना पाएपछि प्रहरी टोली हिजो राति सिंगटी पुगेको थियो ।

एक-एक केजीको चार पिस सुनसहित तीन जनालाई हिजो राति नै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरीले बताउनुभयो ।

सुन सिंगटीका स्थानीय व्यवसायीलाई परीक्षण गराइएको छ भने थप परीक्षण सदरमुकाम चरिकोटमा गरिने जिल्ला प्रहरी कार्यालय दोलखाले बताउनुभयो । उक्त तस्करीमा थप व्यक्ति संलग्न हुनसक्ने भएकोले उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:September 28, 2023