एक हजार बढीले ‘क्यामाफ्लाइज’ ज्याकेट लगाएर गरे नियमको पालना

  Sampatti News Online

May 30, 2024

काठमाडौँ । अन्य दिनको तुलनामा आज दिउँसो काठमाडौँका मुख्य तथा व्यस्त चोकमा पहेँलो रङ्गको ‘क्यामाफ्लाइज’ ज्याकेट लगाएर हजारौँ युवायुवती ट्राफिक नियम सिकाउनमा व्यस्त देखिन्थे ।

यसरी पहेँलो रङ्गको ‘क्यामाफ्लाइज’ ज्याकेट लगाएर आ-आफ्नो समयअनुसार दिनभरि एक हजार तीन सय दुई जनाले स्वयम्सेवकका रूपमा सवारी व्यवस्थापनमा ट्राफिक प्रहरीलाई सहयोग गरेका थिए । उनीहरू कुनै नयाँ संघ संस्थाका प्रतिनिधि, विद्यार्थी एवं ट्राफिक प्रहरी नभएर ट्राफिक नियम उल्लंघन गर्दा कारबाहीमा परेका थिए ।

उनीहरूले आज बिहान ९ बजेदेखि ५ बजेसम्मको समयमा सवारी साधन व्यस्त हुने चोकमा सवारी व्यवस्थापनमा सहयोग गरेका हुन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघन गर्दा कारबाहीमा परेकालाई आजदेखि स्वयम्सेवकका रूपमा सडकमा खटाउन सुरु गरेसँगै उनीहरूले आज पहिलो दिन सवारी व्यवस्थापनमा सहयोग गरेका हुन् ।

उनीहरू खटिएपछि आज काठमाडौँका व्यस्त सडकहरूमा ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापन गर्न सहज भएको थियो । ट्राफिक नियम उल्लंघन गर्दा कारबाहीमा परेका एक हजार तीन सय दुई जनालाई आज काठमाडौँ, ललितपुर र भक्तपुर क्षेत्रमा स्वयम्सेवकका रूपमा सवारी व्यवस्थापनमा खटाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

उनले भने, “ट्राफिक नियम उल्लंघन गर्दा कारबाहीमा परेकालाई हामीले स्वयम्सेवकका रूपमा सवारी व्यवस्थापनमा खटाइएका थियौँ, बेलुकी ५ बजेसम्म उहाँहरू खटिनुभएको थियो ।”

स्वयम्सेवकका रूपमा सिंहदरबार गेट, माइतीघर, भद्रकाली, पुतलीसडक, पद्मोदय मोड, सातदोबाटो चोकलगायत ठाउँमा खटाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सवारी चालकलाई ट्राफिक नियमको सामान्य ज्ञान दिएर फिल्डमा खटाइएको थियो । ट्राफिक नियम उल्लंघन गर्ने प्रत्येकले एक घण्टा स्वयम्सेवकका रूपमा सडकमा खटिनुपर्ने जनाइएको छ । रासस

प्रकाशित मिति:May 30, 2024