नारायणहिटी दरबार हत्याकाण्डः २३ वर्ष पूरा

  Sampatti News Online

June 1, 2024

काठमाण्डौँ । तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको आज २३ वर्ष पूरा भएको छ । तर यो घटना अझै रहस्यको गर्भमै छ ।

२०५८ सल जेठ १९ गते राति ९ बजे नारायणहिटी राजदरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियो।

सो घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए ।

उक्त दरबार हत्याकाण्डमा सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको उच्चस्तरीय छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा तत्कालीन युवराज दीपेन्द्रलाई दोषी ठहर गरेको भए पनि आमनागरिकले त्यसलाई स्वीकार गर्न सकेका छैनन् ।

रहस्यको पर्दा खुल्न नसकेको यो हत्याकाण्डको यथार्थ छानबिन हुनुपर्ने माग उठ्दै आएको छ ।

विभिन्न दलका नेताहरूले सरकार बाहिर रहँदा दरबार हत्याकाण्डको रहस्य पत्ता लगाउने वाचा गरे पनि पदमा पुगेपछि कहिल्यै प्राथमिकता दिएको पाइँदैन ।

गणतन्त्र स्थापनापछि पहिलो पटक प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नारायणहिटी हत्याकाण्डको छानबिन गरेर सत्य बाहिर ल्याउने वाचा गरेका थिए ।

प्रकाशित मिति:June 1, 2024