गुल्मी जिप दुर्घटनाः १ जनाको ज्यान गयो

  Sampatti News Online

June 3, 2024

गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् । दुर्घटनामा परेर सत्यवती गाउँपालिका-८ भार्से निवासी ३२ वर्षकी कमला बुढाथोकीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी शंकर पोखरेलले जानकारी दिए ।

सोमबार बिहान कालिगण्डकी गाउँपालिका-४ ओक्याङमा चन्द्रकोटबाट पुर्तिघाटतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्बरको जिप दुर्घटना भएको थियो । जिपमा ८ जना सवार थिए ।

घाइते ७ जनामध्ये ४ जनाको अवस्था गम्भीर रहेको डीएसपी पोखरेलले बताए । घाइते सबैलाई थप उपचारको लागि पाल्पा पठाइएको छ ।

दुर्घटनामा परेर २९ वर्षका केशव राना, ३७ वर्षकी रिता छन्तेल, ४ वर्षकी ईरिसा छन्तेल, २६ वर्षका अजय नेपाली, ७५ वर्षका टेकबहादुर काला, ४६ वर्षका दुरपति बराल र २३ वर्षका मेख बराल घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:June 3, 2024