देशमा प्रमुख शक्तिहरुबीच नवीन समझदारी आवश्यक : महामन्त्री राणा

  Sampatti News 2024

August 13, 2024

काठमाडौं । राष्ट्रियता, प्रजातन्त्र सुदृढ तुल्याउन र जनताकेन्द्रीत सुशासन कायम गर्न देशमा प्रमुख शक्तिहरुबीच नवीन समझदारी आवश्यक भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा धवलशम्सेर राणाले बताएका छन् ।

‘देशको राजनीतिलाई सही मार्गमा ल्याउन, राष्ट्रियता, प्रजातन्त्र तथा जनताको हित अनुकूल शासन संचालन गर्न प्रमुख शक्तिहरुबीच नवीन समझदारी आवश्यक भएको छ । हर क्षेत्रको अवस्था हेर्दा देश चुनौति र असफलताको जंजालमा फसेको छ, त्यसैको देश र जनताको हित अनुकूल परिवर्तन अपरिहार्य भएको हो,’ राप्रपाका महामन्त्री तथा संगठन विभाग प्रमुख राणाले मंगलबार एक कार्यक्रममा बताए ,

विगत आन्दोलनको अनुभवका आधारमा यस पटक राप्रपा पूर्ण तयारीका साथ सडकमा उत्रने राणाले प्रष्ट गरे ।

महामन्त्री तथा आन्दोलन परिचालन समितिका सदस्य सचिव कुन्ती शाहीले युव र महिलालाई अग्रपंक्तिमा राखेर आन्दोलनमार्फत देशले मागेको परिवर्तन प्राप्त गर्ने बताइन् । वडा तहसम्म गएर जुझारु युवा तरुणको अगुवाईमा युवा दस्ता निर्माण गर्न उनले कार्यकर्तालाई आह्वान गरिन् ।

प्रवक्ता तथा संगठन विभागका सदस्य सचिव सगुन सुन्दर लावतीले देश परिवर्तन सन्मुख रहेको धारणा राखे ।

‘युवा पलायन रोक्न, भ्रष्टाचार अन्त्य गरेर सही अर्थमा राम राज्य कायम गर्न राप्रपाले परिवर्तनको मार्गचित्र अघि सारेको हो । जनताको बलमा परिवर्तन प्राप्त गरेर जनचाहना बमोजिम राजसंस्था, हिन्दु अधिराज्य पूनःस्थापना गर्ने आन्दोलनको लक्ष्य हो,’ लावतीले भने ।

शंखरापुर नगर समिति अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाले स्थानीय तहको संगठनको बलमा राजासहितको प्रजातन्त्र तथा हिन्दुराज्य प्राप्त गर्ने धारणा राखे ।

राप्रपाको संगठन विभागले आन्दोलनलाई केन्द्रमा राखेर काठमाडौं उपत्यकाकेन्द्रीत संगठन विस्तार कार्ययोजना जारी राखेको छ ।

प्रकाशित मिति:August 13, 2024