टीआरसी विधेयक संसदबाट पारित

  Sampatti News 2024

August 14, 2024

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलिमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ (टीआरसी विधेयक) प्रतिनिधि सभाबाट पारित भएको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकमा कानुनमन्त्री अजयकुमार चौरासियाले छलफलका लागि संसद्मा पेस गरेका थिए ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालले सम्बोधन गरेका थिए । त्यस्तै दलीय आधारमा सो विधेयकका विषयमा धारणा राखेका थिए ।

उक्त विधेयक पारित गर्दा नेपाल किसान मजदुर पार्टीका सांसद प्रेम सुवाल बाहेक अन्य दलका सांसदहरुले समर्थन गरेका थिए ।

मन्त्री चौरासियाले उक्त विधेयक पारित गर्नका लागि राखेको प्रस्तावमा हलले समर्थन गरेर पारित गरेको हो ।

नेपालमा शान्ति प्रक्रिया टुंगिएको १८ वर्षपछि शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न हुने भएको भन्दै शीर्ष नेताहरुले खुसी व्यक्त गरेका छन् ।

सरकारले २५ फागुन २०७९ मा यो विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार कानुन समितिले विधेयक पास गर्नुअघि मुख्य विवादित विषयमा प्रमुख तीन राजनीतिक दल कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुले विवादित विषयमा सहमति जुटाएका थिए ।

प्रकाशित मिति:August 14, 2024