November 21, 2024
काठमाण्डू, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीले हवाई भाडा घटाउन निर्देशन दिएका छन् ।
हवाई भाडा वृद्धि नियन्त्रणबारे सरोकारवालासँग बुधबार भएको छलफलपछि मन्त्री पाण्डेले यसअघि हवाई भाडा नियन्त्रणका लागि भएको पाँचबुँदे सहमति कार्यान्वयन गर्न हवाई कम्पनीलाई २४ घण्टाभित्र हवाई भाडादर बुझाउन निर्देशन दिएका हुन् ।
उनले भने , “हामीले नागरिकहरूकै सेवा भनेर हवाई कम्पनीहरूलाई सहुलियत दिएका थियौँ तर त्यसको उपहास भएको छ, राज्य र नागरिकप्रतिको दायित्वलाई बेवास्ता गरेर गैरजिम्मेवारपन देखाइएकाले नागरिकमाथि प्रतिष्ठित व्यापारी र एयरलाइन्सले द्वन्द्व व्यापारजस्तो गर्नुभएको छ ।”
मन्त्री पाण्डेले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत महँगो हवाई भाडा लिएकोप्रति सचेत गराउँदै हालै बिक्री भएका टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
हवाई भाडा वृद्धिबारे गुनासो बढेपछि सरकारको गम्भीर ध्यानाकर्षण भएको र तुरुन्तै परराष्ट्र, श्रम र पर्यटनमन्त्रीबिच बसेको बैठकमा समेत हवाई भाडा नियन्त्रणका लागि छलफल गरी नागकिरप्रति जिम्मेवार बन्न एयरलाइन्सलाई आग्रह गरिएको मन्त्री पाण्डेले बताएका छन् ।
मन्त्रालयका सचिव गणेश पाण्डेयले हवाई सेवा कम्पनीहरूले सम्झौता अनुसार हवाई भाडा लागू नगर्नु चिन्ताको विषय भएको उनको भनाइ थियो ।
उनले भने , “आफूले गरेको निर्णय आफैँ लागु गर्ने कि नियमन गर्न कठोर बन्नुपर्ने हो । हवाई कम्पनीले सम्झौता अनुसार हवाई भाडा कार्यान्वयन गरेर जनताको विश्वास जित्नु पर्छ ।
अटेर गर्नुभयो भने सेवा दिन आउने नयाँ हवाई कम्पनीका लागि सूचना आह्वान गर्न सकिन्छ ।”
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले एयरलाइन्सले हवाई भाडा नियन्त्रणसम्बन्धी पाँचबुँदे सहमति कार्यान्वयन नगरेको र हवाई टिकटमा कृत्रिम अभाव देखाउँदै कालोबजारी गरिरहेकाले त्यसलाई नियन्त्रण गरेरै छोड्ने अठोट व्यक्त गरे ।
प्रकाशित मिति:November 21, 2024
November 21, 2024