सेयर बजारको वृद्धि कायमै: साढे ११ अर्ब नाघ्यो कारोबार

  Sampatti News Online

February 23, 2025

काठमाण्डौं।  कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढ्दा कारोबार रकम पनि बढेको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ११.६६ अंक बढेको छ । नेप्से परिसूचक ११ दशमलव ६६ अंकले बढेर दुई हजार सात सय ५५ दशमलव ४० को विन्दुमा कायम भएको हो।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ८ अर्ब ६२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२८ स्टकको १ लाख ८ हजार ९१३ पटकको कारोबारमा ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार रुपैयाँबराबरको २ करोड १२ लाख ६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ७० रुपैयाँ ९० पैसा बढेर ७८० रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन कुमारी सबल योजनाको इकाईमूल्य करिब १० प्रतिशत बढेको छ भने छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशत बढेको छ। यस दिन रिभर फल्स पावरको शेयरमूल्य सर्वाधिक ७.२४ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी घटेको छ भने पिपुल्स हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९५ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सिटिजन लाइफ इन्स्योरेन्सको करिब साढे ६१ करोडको शेयर खरिदबिक्री भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको ६० करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

प्रकाशित मिति:February 23, 2025