नेप्सेमा उच्च अंकको गिरावट, कारोबार रकम पनि घट्यो

Nepal Cover
२० फाल्गुन २०८१, मंगलवार
image

काठमाडौं । मंगलबार सेयर बजार ३०.३६ अंक घटेको छ । सो गिरावटपछि नेप्से २८४६ अंकमा कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार करेक्सन भएर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। अघिल्लो दिन १४ अर्ब २८ करोडको कारोबार भएकोमा आज १२ अर्ब ९४ करोडको भयो ।

४१ कम्पनीको मूल्य बढ्दा १९८ को घट्यो भने ५ स्थिर रह्यो । सबै सेक्टरका सूचक घटेका छन् । बैंकिङ १.०५, विकास बैंक ०.३९, फाइनान्स २.१०, होटल तथा पर्यटन ०.९७, हाइड्रोपावर १.०८, लगानी १.७५, जीवन बीमा ०.६९, उत्पादन २.२१, माइक्रोफाइनान्स १.४१, निर्जीवन बीमा १.११, अन्य ०.०६ तथा व्यापार समूह ०.८४ प्रतिशत घटे ।

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस कम्पनीको शेयर निरन्तर १६ औँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन कम्पनीको शेयरमूल्य १२५ रुपैयाँ ६० पैसा बढेर १ हजार ३८२ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन आत्मनिर्भर लघुवित्तको शेयरमूल्य साढे ६ प्रतिशत बढेको छ भने युनिभर्सल पावर कम्पनीको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन सिन्धु विकास बैंकको शेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब ९ करोड ३० लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको ५४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सिन्धु विकास बैंकको ४७ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।