५ बुँदे सहमति भएपछि, उद्योगीको आन्दोलन फिर्ता

ग्यासको भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसाले बढ्यो, यस्ता छन् सहमति

  Sampatti News Online

March 4, 2025

काठमाडौं । विभिन्न माग राखेर आन्दोलन गर्दै आइरहेका ग्यास उद्योगी र सरकारबीच सहमति जुटेको छ । मंगलबार उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीसहितको सरकारी टोली र उद्योगीबीच ५ बुँदे सहमित जुटेको हो । सहमति जुटेसँग उद्योगीको आन्दोलन स्थगित भएको छ ।

सहमति अनुसार सरकार र नेपाल एलपी ग्यास उद्योग संघबीच ग्यासको भाउ १२ रुपैयाँ ७५ पैसा बढाउने सहित ५ बुँदे सहमति भएको हो ।

सहमतिसँगै अब ग्यासको भाउ प्रतिसिलिन्डर १ हजार ९ सय १० बाट बढेर १ हजार ९ सय २२ रुपैयाँ ७५ पैसा पुगेको छ ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की सहितका सरकारी प्रतिनिधि र उद्योगीबीच भएको छलफलपछि आन्दोलन फिर्ता लिने सहमति भएको हो ।

संघका वरिष्ठ उपाध्यक्ष कृष्णभक्त श्रेष्ठले ५ बुँदे सहमति भएपछि आन्दोलन फिर्ता भएको अनलाइनखबरलाई जानकारी दिए ।

यस्ता छन् सहमति

  • ढुवानी भाडा, आन्तरिक ढुवानी भाडा, सञ्चालन तथा प्रशासनिक खर्च रकममा समायोजन गरी साविकको खर्चमा प्रति सिलिण्डर १२.७५ ले वृद्धि गरेको विषयमा नेपाल एलपि ग्यास उद्योग संघका पदाधिकारीहरूलाई जानकारी गराइयो ।
  • निगम सञ्चालक समितिको मिति २०८१-११-१८ गतेको निर्णय अनुसार एलपि ग्यास उद्योगको खर्चमा समायोजन गरिए पश्चात् पनि मुनाफा प्रतिशतमा हुनुपर्ने मागलाई निरन्तरता दिई मिति २०८१-११-१८ गते देखि ग्यास उद्योगीहरूले निगमबाट पि.डि.ओ. नउठाएको र सो कारणले बजारमा एल.पि.ग्यासको आपूर्ति असहज बन्न थालेको परिस्थितीलाई मध्यनजर गर्दै हाल ग्यास उद्योगीलाई दिइदै आएको मुनाफा प्रति सिलिण्डर Flat रकममा प्रदान गर्ने वा निश्चित प्रतिशतमा प्रदान गर्ने भन्ने सम्बन्धमा निगमले उपसमिति बनाई अध्ययन कार्य अगाडि बढाउने ।
  • निगम र सघं दुवै पक्षको समन्वयमा सम्बोधन गर्न सकिने मागहरू निगम व्यवस्थापनले सम्बोधन गर्ने ।
  • निगमले सम्बोधन गर्न नसक्ने अन्य मागहरूका सम्बन्धमा आवश्यक गृहकार्य गरी संचालक समिति
    तथा श्री उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेश गर्ने।
  • नेपाल एलपि ग्यास उद्योग संघले राखेका मागहरू माथि उल्लेख भएबमोजिम सम्बोधन गर्ने सहमति भएकोले नेपाल एल. पि. ग्यास उद्योग संघले हाल जारी राखेको विरोधको सम्पूर्ण कार्यक्रमहरु आजबाटै फिर्ता लिने र आजबाटै सबै ग्यास उद्योगीहरूले निगमबाट नियमित रुपमा पिडिओ लिई एलपि.ग्यासको आपूर्ति सहज बनाउने ।

प्रकाशित मिति:March 4, 2025