नेप्सेमा आज पनि गिरावट, कारोबार रकम पनि घट्यो

  Sampatti News Online

March 5, 2025

काठमाडौँ । बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २५.१६ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २८२१ मा कायम भएको छ । कारोबार रकम पनि घटेको छ ।

अघिल्लो दिन १२ अर्ब ९४ करोडको कारोबार भएकोमा आज १० अर्ब ९७ करोडको भयो । तीन दिनदेखि बजार लगातार झरेको छ । तीन दिनमा बजारले कुल ६९ अंक गुमाएको छ । बुधबार ६२ कम्पनीको मूल्य बढ्दा १७४ को घट्यो भने ८ को स्थिर रह्यो । व्यापार बाहेक सबै सेक्टर घटेका छन् । व्यापार ०.४३ प्रतिशत बढ्यो ।

अघिल्लो कारोबार दिन करिब १३ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०८ स्टकको १ लाख १ हजार ६०३ पटकको कारोबारमा १० अर्ब ९७ करोड २६ लाख ५४ हजार रुपैयाँबराबरको २ करोड ३३ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर स्टकको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन समाज लघुवित्त वित्तीय संस्था र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने माउन्टेन हाइड्रो नेपालको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ६.८४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९६ करोड ७० लाख ९५ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको करिब साढे ९० करोडको शेयर किनबेच भएको छ भने सगरमाथा जलविद्युत कम्पनीको करिब ३१ करोडको शेयर कारोबार भएको छ।

प्रकाशित मिति:March 5, 2025