बीपी राजमार्ग पुन:निर्माणबारे चासो, बर्खा लाग्नुअघि नै काम सक्न कुलमानको निर्देशन

Nepal Cover
२० मंसिर २०८२, शुक्रबार
image

काठमाडौं । लगातार दुई वर्षको बाढीपहिरोले क्षतिग्रस्त बनेको बीपी राजमार्गको पुनर्निर्माण तीव्र गतिमा अघि बढेको छ। रोशी नदीमा आएको बाढीका कारण काभ्रेपलाञ्चोक–सिन्धुली खण्डको करिब २८ किलोमिटर सडक जोखिमपूर्ण बनेपछि सरकारले पुनर्निर्माणलाई उच्च प्रथमिकतामा राखेको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार त्यस क्षेत्रको स्थलगत अनुगमन गरी सडक पुनर्निर्माणका विषयमा जानकारी लिएका छन् ।

क्षतिग्रस्त सडकलाई पाँच खण्डमा विभाजन गरी पुनर्निर्माण अगाडि बढाइएको छ । त्यसमध्ये ४ खण्डमा पर्ने २५ किलोमिटर सडक पुनर्निर्माणका लागि ठेक्का सम्झौता भई काम भइरहेको छ । पुनर्निर्माण दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको छ । बाँकी एक खण्डमा पर्ने ३ किलोमिटर सडक जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का सहयायतामा पुनर्निर्माण हुनेछ । यसका लागि डिजाइन स्वीकृत भई ठेक्काको प्रक्रियामा रहेको बताइएको छ ।

सडक विभागका महानिर्देशक विजय जैशी, संघीय सडक सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख सुभराज न्यौपाने पनि त्यहाँ पुगेका थिए । घिसिङले सडकको विभिन्न खण्डमा भइरहेको पुनर्निर्माण, निर्माण सम्पन्न हुने तालिका, यातायात सञ्चालनका लागि हाल अस्थायी रुपमा गरिएको डाइसर्भनको व्यवस्था,जाइकाले निर्माण गर्ने खण्डको तयारी अवस्थालगायतका विषयमा छलफल गरेका छन् ।

हाल अस्थायी रुपमा सवारी साधनका लागि खोला किनारबाट डाइभर्सन निर्माण गरिएको र उक्त डाइभर्सनले वर्षायाम सुरू भएसँगै काम नगर्ने भएकाले मन्त्री घिसिङले यसतर्फ विशेष ध्यान दिई वर्षायाम अगाडि नै आवश्यक संरचना बनाउन भनेका छन् । जनशक्ति थप र विद्युतको व्यवस्था गरी राति पनि काम गर्न उनले आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिए ।

काठमाडौंलाई पूर्वी क्षेत्रसँग जोड्ने लाइफलाइन सडक बीपी राजमार्ग जापान सरकारको अनुदान सहयोगमा निर्माण सम्पन्न भएको थियो । १६० किलोमिटर लम्बाई रहेको यो सडक गत सालको बाढीले ३०.५ किलोमिटर क्षतिग्रस्त भएको थियो । हाल भइरहेको इन्टरमिडियट लेनलाई क्षतिग्रस्त राजमार्गको खण्डमा भने दुईलेनको बनाई पुनर्निर्माण गरिँदैछ ।