पोखरा विमानस्थल भ्रष्टाचार : ५ पूर्वमन्त्री र १० सचिवसहित ५५ जनाविरुद्ध अख्तियारको मुद्दा दर्ता तयारी

Nepal Cover
२२ मंसिर २०८२, आईतवार
image

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचजना तत्कालीन मन्त्रीसहित ५५ जनालाई विपक्षी बनाएर विशेष अदालतमा मुद्दा लगेको छ ।

दर्ता हुने क्रममा रहेको मुद्दाको मिसिलमा ८ अर्ब बिगो दाबी गरिएको छ । अख्तियारले तत्कालीन मन्त्रीहरू डा. रामशरण महत, पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ,भीम आचार्य र दिपक अमात्यलाई विपक्षी बनाएको छ । त्यस्तै १० जना तत्कालीन सचिवहरुलाई पनि विपक्षी बनाइएको छ ।

पूर्वमन्त्रीमध्ये माओवादी नेता समेत रहेका बोगटीको निधन भइसकेको छ । उनी त्यसबेला पर्यटनमन्त्री थिए । त्यस्तै कांग्रेस नेता शामशरण महत अल्जाइमरका कारण स्मरण शक्ति कमजोर भएर सक्रिय राजनीतिमा छैनन् ।एमाले नेता भीम आचार्य विघटित प्रतिनिधिसभा सदस्य थिए र उनी एमालेको उपाध्यक्षका दाबेदार समेत हुन् । उनीपछि झलनाथ खनालका स्वकीय सचिव दिपक अमात्य पर्यटनमन्त्री बनेका थिए ।

रामकुमार श्रेष्ठ भने खिलराज रेग्मी नेतृत्वको सरकारका पालामा माओवादी अध्यक्ष प्रचण्डको सिफारिसमा पर्यटनमन्त्री बनेका थिए । श्रेष्ठ यसअघि अख्तियारले दायर गरेको अकुत सम्पत्ति आर्जनको मुद्दामा पनि विशेष अदालतबाट दोषी ठहर भइसकेका छन् ।