काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हाजिरी जमानीमा रिहा भएका छन्। काठमाडौं जिल्ला प्रहरी परिसरका सूचना अधिकारी एसपी पवनकुमार भट्टराईका अनुसार ओलीलाई अस्पतालबाटै उनकी पत्नी राधिका शाक्यको जिम्मामा रिहा गरिएको छ । ओलीलाई अनुसन्धानका क्रममा आवश्यक परेका बेला उपस्थित हुने गरी राधिका शाक्यको जिम्मा लगाइएको भट्टराईले बताए ।
बाँकी निर्णय उनको स्वास्थ्य अवस्था हेरेर चिकित्सकले गर्ने प्रहरीको भनाइ छ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा ओलीलाई चैत १४ गते गुण्डु निवासबाट पक्राउ गरिएको थियो। जटिल स्वास्थ्य अवस्थाका कारण उनी त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए।
त्यसपछि ओलीकी पत्नी राधिका शाक्यले गैरकानूनी हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता गरेकी थिइन्।
सर्वोच्च अदालतले चैत २३ गते बेलुका पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्धको अनुसन्धान २६ चैतभित्र टुंग्याउन आदेश दिएको थियो।
प्रहरीले नियन्त्रणमुक्त गरेपछि ओलीलाई लिन उनकी पत्नी राधिका शाक्य त्रिवि शिक्षण अस्पताल पुगेकी छन्।