हनुमानढोकाका २७ सम्पदा पुनःनिर्माण

  Sampatti News

December 22, 2020

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका २७ सम्पदा पुनःनिर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये ११ वटाको पुनःनिर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

विश्व सम्पदा क्षेत्रमा रहेका ७० सम्पदामध्ये १२ वटामा कुनै क्षति नभएको अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिनुभयो । “हाल बनिरहेका सम्पदाको काम नसकी काम गर्नु नहुने भएकाले २० सम्पदाको काम अझै शुरु हुन सकेको छैन, माजुदेगअघि कामदेव मन्दिर छ, माजुदेग पुनःनिर्माण नसकी कामदेव मन्दिरको काम गर्न सकिँदैन”, उहाँले भन्नुभयो ।

हनुमानढोका दरबार क्षेत्रको नौतले दरबार चीन सरकारको अनुदान सहयोगमा पुनःनिर्माण भइरहेको छ । दरबारको ६० प्रतिशत काम सकिएको छ । कोरोना महामारीका कारण नौतले दरबार पुनःनिर्माणमा केही ढिलाइ भएको छ । नौतले दरबार सन् २०२२ सम्ममा सक्ने गरी सम्झौता भएको अड्डाले जनाएको छ । यसैगरी गद्दी बैठक अमेरिकाको सहयोगमा पुनःनिर्माण सम्पन्न भएको छ ।

जगन्नाथ र गोपीनाथ मन्दिर वाग्मती प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पुनःनिर्माण भइरहेको छ । नासलचोक पश्चिमको राणाकालीन सेतो भवन र नासलचोक तथा गद्दी बैठकबीचको भवन पनि हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिमार्फत पुनःनिर्माण भइरहेको छ ।

आगम्छे घर र शिव मन्दिर जापानी सहयोग नियोग ९जाइका० को अनुदान सहयोगमा पुनःनिर्माण भइरहेको अड्डाका कार्यालय प्रमुख खनालले जानकारी दिनुभयो ।

प्रकाशित मिति:December 22, 2020